प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको संविधानमा राज्यका हरेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता गरिएको बताउनुभएको छ । शनिबार बालुवाटारमा कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको आज विमोचन गर्दै उहाँले महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक भएको पनि बताउनुभयो । उहाँले राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति, सभामुख, उपसभामुख तथा गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुख र उपप्रमुख पदमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले महिला अधिकार र सहभागिताका सवालमा सरकार तथा राजनीतिक दलहरु पनि गम्भीर रहेको बताउनुभयो । नेपाल समानुपातिक प्रतिनिधित्व गर्ने मुलुक रहेको उदाहरण दिदैँ उहाँले दलित, आदिवासी, जनजाती पिछडिएका क्षेत्रलाई आरक्षण दिएर समावेशी समानुपातिक प्रतिनिधित्व गराएको भन्दै भोलिका दिनमा पनि पार्टी संरचनादेखि राज्यका हरेक निकायमा महिला सहभागिता बढाउने गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पुस्तकका लेखिका नेतृ सङ्ग्रौलाले विभिन्न परिवेष्टलाई चित्रण गरी विभिन्न समयका पत्रपत्रिका एवम् अनलाइनमा प्रकाशित लेख रचनालाई सङ्कलन गरी पुस्तक प्रकाशन गरिएको जानकारी दिनुभयो । पुस्तकमा विभिन्न समयमा पत्रपत्रिकामा लेखिएका १४८ लेख समावेश गरिएका छन् ।