



सरकारले थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिको विभिन्न १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।उक्त वार्ता टोलीको सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहेका छन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता गुरुङले वार्ता टोलीले तत्कालै काम सुरु गर्ने जानकारी दिनुभयो । सरकार सवै प्रकारका हिंसात्मक गतिविधीलाई अन्य गर्दे शान्तिपूर्ण देश बनाउने अभियानमा रहेको भन्दै उहाले सवै प्रकारको समस्यालाई वार्तामार्फत समाधान गर्ने बताउनुभयो ।थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायतका विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । केही दिनअघि गृहमन्त्री थापा माइतीघर मण्डल पुगेर सरकारले वार्तामार्फत नै थरुहट आन्दोलनकारीको माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
