July 13, 2024

राष्ट्रहरूका बिचमा विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनु पर्छ: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि राष्ट्रहरूका बिचमा विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने नेपालको मान्यता रहेको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनुपर्नेमा जोड दिदै सबै प्रकारका युद्धको विरोध गर्ने बताउनुभयो । संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व, विश्‍व–बन्धुत्वको भावना, अनाक्रमण र अ–हस्तक्षेपको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्ने नेपालको स्पष्ट दृष्टिकोण रहेको उहाले बताउनुभयो ।
जलवायु परिवर्तन आजको विश्‍वले भोग्नुपरेको ठूलो चुनौतीका रूपमा खडा भएको भन्दै उहाले यसका लागि अन्तर्राष्ट्रिय कानुनहरू बन्न बाँकी नै रहेको धारणा पनि राख्नुभयो ।उहाले न्यायमा आधारित विश्‍व व्यवस्थाले मात्र नेपाल जस्ता राष्ट्रहरूको विशिष्ट आवश्यकतालाई गम्भीरतापूर्वक बोध गर्नसक्ने जिकिर गर्नुभयो । साथै उहाले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्र, मानवअधिकारको विश्‍वव्यापी घोषणापत्र, आफूले हस्ताक्षर गरेका द्विपक्षीय, बहुपक्षीय सन्धि, अभिसन्धि र महासन्धिप्रति सदैब प्रतिबद्ध रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा हुने अन्तराष्ट्रिय सम्मेलनहरुले नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा अझ विस्तारित हुने र अन्तर्राष्ट्रिय कानुनको विकासमा नेपालको योगदान स्थापित हुने विश्वास गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *