
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राष्ट्रिय सहमतिबाट भूमि र सीमाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै खनालले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको बताउनुभएको हो । उहाँले भूमि सुधारको कुरा नीति तथा कार्यक्रम नभएको उल्लेख गर्नुभयो । नेता खनालले अब राजनीतिक दल ठीक ढङ्गले चल्न नसके धेरै बालेन जन्मने र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जाने बताउनुभयो । नेता खनालले श्रमजीवी वर्गको जनताको हितका लागि ठोस नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै गरिबी निवारणसम्बन्धी ठोस नीति हुनुपर्ने बताउनुभयो । त्यस्तै श्रमशक्तिको पलायनलाई रोक्दै मुलुकमा नै रोजगारी सिर्जना गर्नका लागि पनि ठोस कार्यक्रमको आवश्यकता रहेको उहाले बताउनुभयो । नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले मुलुकको आन्तरिक उत्पादनलाई बढाउन सरकारको प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । मुलुकको सङ्कटप्रति कार्यक्रम बेखबर रहेको र राष्ट्रिय पुँजी निर्माणमा पनि ध्यान दिन नसकेको उहाले बताउनुभयो । कांग्रेसका सांसद प्रकाशमान सिंहले अघिल्लो सरकारले गर्न नसकेका काम र विद्यमान अर्थतन्त्रका कारण सामना गर्नुुपरिरहेको परिस्थिति नियन्त्रणका लागि आएको कार्यक्रम सकारात्मक रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आर्थिक सूचकहरु सकारात्मक नरहेको अवस्थामा यस विषयमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।