
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालका अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई संकलन गरि बाहिर ल्याउनुपर्ने बताउनुभएको हो । उहाले नेपाली सिर्जनाहरु विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्ने कुरालाई विश्वसामु पु¥याएर प्रमाणित गर्नपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाले प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कन प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । कविता महोत्सवले अन्तर पुस्तागत समूहलाई प्रोत्साहन गरेको भन्दै उहाले प्रतिष्ठानको प्रसंसा गर्नुभयो । कार्यक्रममा उहाले एक लाख २८ हजारभन्दा बढी शब्द सङ्ग्रह गरिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ र ‘तस्बिरमा नेपाल’ को अङ्ग्रेजी संस्करण बिमोचन गर्नुभयो ।
त्यस्तै राष्ट्रिय कविता महोत्सव २०७९ मा पहिलो हुने टीका आत्रेय, दोस्रो हुने यात्रीप्रकाश पाण्डे , तेस्रो हुने सीता तुम्खेवा लगाएतलाई पुरस्कार प्रदान गरिएको थियो ।