
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले विश्वासको मतका बारेमा कांग्रेसको धारणा आएपछि मात्रै पार्टीको धारणा तय गर्ने जनाएको छ ।आइतबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकपछि अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अहिले पनि कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा रहेकाले कांग्रेसको धारणा आएपछि मात्रै सरकार र विश्वासको मतका बिषयमा आफ्नो पार्टीले धारणा तय गर्ने बताउनुभयो ।उहाले सरकारलाई सहयोग गर्न वा विश्वासको मत दिनका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबाट औपचारिक प्रस्ताव नआएको जिकिर गर्नुभयो । उहाले आधिकारीक प्रस्ताव आए सरकारका बिषयमा आवश्यक छलफल गर्न सकिने धारणा पनि राख्नुभयो । अध्यक्ष ठाकुरले सरकारको साझा न्युनतम कार्यक्रममा आफुहरुको केहि माग पनि समावेश भएको र त्यस अनुसार काम हुन्छ वा हुन्न भन्ने हेर्न बाँकी रहेको बताउनुभयो ।
उहाले पार्टीका सवै सांसदहरुलाई काठमाडौंमा नै बस्न भनिएको बताउनुभयो । कार्यकारिणी बैठकले मधेश प्रदेशको संसदीय दलको विधानलाई अनुमोदन गरिएको ठाकुरले जानकारी दिनुभयो ।