



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले राजनीतिक स्थिरता, समृद्धि र विकासका नारा दिएपनि केहि काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।बिहिबार नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर १ का सभापति स्वर्गीय उज्जवल कोइरालाको १३ औँ पूण्य तिथिका अवसरमा काठमाडौमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता सिंहले यस्तो बताउनुभएको हो । संघीयता कार्यान्वयनका लागि संघीय सरकारले समयमै कानुन बनाएर प्रदेश र स्थानीय सरकारलाई काम गर्न सहजीकरण गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको मर्मविपरीत प्रदेश र स्थानीय तह केन्द्रको प्रशासनिक निकाय मात्रै हुन् भन्नेजस्ता अभिव्यक्ति दिने गरेको आरोप लगाउनुभयो ।
त्यस्तै प्रधानमन्त्रीले भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न भन्ने गरेपनि एकपछि अर्को भ्रष्टाचारका काण्ड हुने गरेको र त्यसको छानविन नभएको बताउनुभयो ।त्यस्तै कांग्रेसको १३ औं महाधिवेशनदेखि नै पार्टी कमजोर हुन थालेको उहाँको भनाइ छ। सत्तारूढ नेकपाले जनअपेक्षाअनुसार काम नगरेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दलले पनि भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्नुभयो ।
