


कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई रु. १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।कोरोनाबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई सहुलियत ऋण उपलब्ध गराउन लागेको हो ।आइतबार अर्थमन्त्रालयमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले वित्तीय सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।आर्थिक बृद्धि, पुनरुत्थान तथा उत्थानशीलताका लागि विकास नीति सहयोग सम्बन्धित पहिलो चरणको सहयोगले अत्यन्त जोखिममा रहेकाहरूको संरक्षण तथा व्यवसाय बृद्धि तर्फ लक्षित सुधारहरूलाई सघाउने बताइएको छ ।यसले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालू ठूला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्ने समेत बताइएको छ ।
प्रस्तुत सहयोग बजेटरी सहायताका रुपमा प्राप्त हुने मन्त्रालयले जनाएको छ । कार्यक्रममा अर्थ सचिव ढुंगानाले सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनमा लगायतका क्षेत्रमा थप सुधार हुने बतााउनुभयो ।फारिस हदाद–जर्भोसले कोभिड–१९ को महामारीका बेला तथा सो पश्चात पनि यस आयोजनाले नेपालमा दीगो बृद्धि हासिल गर्न सहयोग गर्ने बताउनुभयो ।
