December 5, 2022

शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा निधन

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ । शताब्दी पुरुष जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई असोज ७ गते अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राखिने छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुनुहुन्छ । उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ ।

‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.