



नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाउनुभएको छ ।शुक्रबार काठमाडौंमा नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधि सभा मात्र नभई ओलीले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाउनुभएको हो ।उहाले संविधान र जनताविरोधी कदमलाई जनसागरले पराजित गर्ने बताउनुभयो । अहिले ६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले प्रतिनिधि सभा बिघटन गर्ने ओलीको असंवैधानिक कदमको विरोध गरेको तर्क गर्नुभयो ।अध्यक्ष प्रचण्डले ओलीको षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुने बताउँदै जनताको सेटिङलाई कसैले सिध्याउन नसक्ने धारणा पनि राख्नुभयो । उहाले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नागरिक भावना र मतको सम्मान गर्न आग्रह गर्नुभयो ।वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार्दै प्रचण्डले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको जिकिर गर्नुभयो ।
त्यस्तै उहाले ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको उल्लेख गर्नुभयो ।विरोध सभामा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीले असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जाने अवस्था नरहेको बताउनुभयो । अध्यक्ष नेपालले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । अध्यक्ष नेपालले ओलीले ५० वर्षसम्म दुःख मात्रै दिएको भन्दै साईबर सेना र अरिङ्गालमात्रै मन पर्ने जिकिर गर्नुभयो ।त्यस्तै सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता झलनाथ खनालले संविधान जोगाउन प्रतिनिधि सभा पुनःस्थापना बाहेकको बाटो नभएको बताउनुभयो ।त्यस्तै प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब साईबर स्यालहरु मात्र बाँकी रहेको टिप्पणी गर्नुभयो ।
