



ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान गर्दै आएको ‘एजिङ नेपाल’ संस्थाले प्राप्त गरेको युनेस्को अन्तरराष्ट्रिय साक्षरता पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गर्नुभएको छ ।मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा सो संस्थाका अध्यक्ष कृष्णमुरारी गौतमलाई हस्तान्तरण गर्नुभयो । त्यस्तै युनेस्को काठमाडौँका प्रमुख क्रिष्टिने म्यानहर्टले पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभयो । सो संस्थाले २० हजार अमेरिकी डलर अर्थात करीब रु २३ लाख ३२ हजार राशिको अन्तरराष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्न सफल भएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त संस्थाले प्राप्त गरेको पुरस्कारबाट नेपालको नाम विश्वभर थप चिनिएको बताउँदै बधाई दिनुभयो । उहाँले नयाँ ढङ्गबाट ज्येष्ठ नागरिकको शिक्षाका लागि के गर्न सकिन्छ भन्नेबारेमा विज्ञको सुझावका आधारमा कार्यक्रम तय गरिने जानकारी दिनुभयो ।
‘एजिङ नेपाल’ का अध्यक्ष गौतमले ज्येष्ठ नागरिकका आधुनिक सूचना प्रविधिसमेतको उपयोग गर्नसक्ने गरी साक्षरता दिने नीतिगत व्यवस्थाका लागि आग्रह गर्नुभयो ।कार्यक्रममा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विश्वभरकार ७६ संस्थाको प्रतिस्पर्धामा श्रेष्ठ भई एजिङ नेपालले पुरस्कार पाउनु मुलुकका लागि गौरवको विषय भएको बताउनुभयो ।
