December 5, 2023

संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । लोकतान्त्रिक सत्ता गठबन्धन दलहरुले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नुभएको हो । जनताको आवश्यकता पूरा गर्दै देशलाई विकासको गतिमा अघि बढाउन वर्तमान गठबन्धननै आवश्यक रहेकाले गठबन्धनकै पक्षमा मतदान गर्न पनि मतदातालाई आग्रह गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपी ओलीले दुई वर्षअघि नै दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको भन्दै संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर लहडमा संसद् भंग गरेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री देउवाले अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बस्ने बताउनुभयो । त्यस्तै उहाँले नेपालले बिजुली बेचेरै पनि आर्थिक समृद्धि गर्ने बताउँदै भारतले बिजुली किन्ने सम्झौता गरेको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभयो । चुनावी तालमेल हो मात्रै भनेपछि प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको दाहालले आरोप लगाउनुभयो । मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी प्रवृत्ति र कसरत चलिरहेको दाबी गर्दै दाहालले निर्वाचन पछि पनि गठबन्धन आवश्यक पर्ने बताउनुभयो । उहाँले गठबन्धन निर्माण नगरेको भए संसद् विघटन भएपछि राजनीतिक समस्या उत्पन्न हुने अवस्था रहेको बताउनुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई अप्राकृतिक भन्ने विपक्षी गठबन्धनलाई सशक्त रूपमा काउन्टर जवाफ दिन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले केपी ओलीले नेतृत्व गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गर्नुभयो । अध्यक्ष नेपालले ओलीले संविधान माँस्ने कदम गरेपछि गणतन्त्र र संविधान जोगाउन अहिलेको सत्ता गठबन्धन बनेको स्मरण गर्नुभयो । उहाँले धेरै ठाउँमा सत्ता गठबन्धन जित्न सक्ने भएपछि गठबन्धनबारे विपक्षीले भ्रम फैलाउने कोसिस गरिरहेको दाबी समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *