



चिकित्सक क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले संसद विघटन गरेर सरकारले निरंकुश काम गरेको निरंकुश सरकार नचाहिने बताउनुभएको छ ।प्रतिनिधिसभा विघटनको विरुद्धमा नागरिक अगुवाहरुले शनिबार काठमाडौंमा आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागी हुन पुगेका डा केसीले जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको समेत बताउनुभयो ।उहाले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ’श्री ७’ महाराजको जस्तो भएको टिप्पणी गर्नुभयो ।
डा केसीले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना नभए जनता सडकमा आउनुपर्ने जिकिर गर्नुभयो ।संसद् विघटनको मुद्दा सर्वोच्चमा रहेको र त्यहाँबाट ओलीको कदमलाई रोक्ने आश रहेको डा. केसीले बताउनुभयो ।कार्यक्रममा नागरिक अगुवाहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै नागरिक सचेत हुनुपर्ने बेला आएको धारणा राख्नुभयो ।
