प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभित्रको संस्कृतिको संरक्षणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । १८ औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषले आइतबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र भएको भन्दै संस्कृतिको संरक्षणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाले नेपालको मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता निर्माणमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
ज्यापु समाजको छुट्टै मौलिकताले उपत्यकाको समाज विकासमा उल्लेखनीय योगदान गरेको उहाले बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको जस्तो भौगोलिक विधिधता र प्राकृतिक सम्पदा विश्वमै कतै नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी , शिक्षा क्षेत्रमा आयोगदान पु¥याउनु भएका मध्यपुर थिमिका सुरेन्द्रविक्रम प्रजापति , सञ्चारकर्मी तेजनारायण महर्जन लगाएतलाई सम्मान गरिएको थियो ।