November 25, 2022

सगरमाथा आधार शिविरमा महिलाहरुले पदयात्रा गर्ने

जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा गर्ने भएका छन् । आगामी मार्च ८ तारिख अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न विधाका प्रतिष्ठित ४० महिलाले कालापत्थरसम्म झण्डै १३ दिनको पदयात्रा गर्न लागेका हुन । त्यसका लागि नेपाली टोली सोमबार काठमाडौबाट प्रस्थान गर्नेछन् । ‘साथसाथै’ नामक संस्थाको संयोजनमा हुन लागेको सो पदयात्राको मुख्य उद्देश्य हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारणले परेको असर विश्वसामु उजागर गर्न र त्यसले महिलामा उत्पन्न गरेको समस्याको न्यायका लागि वकालत गर्ने रहेको संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो । समूहले कालापत्थरमा विशेष कार्यक्रम गर्ने र त्यहीँबाट जलवायु परिवर्तनका असरले महिलामा पारेका असरको उजागर गर्ने तथा त्यस्ता मुद्दाको राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा ध्यानाकर्षण गराइने उहाले बताउनुभयो । त्यस्तै इलाइट एक्पेडका प्रवन्ध निर्देशक मिग्मा डेभिड शेर्पाले पदयात्राका क्रममा धेरै सिक्ने अवसर पाइने र आफुहरुको सहयोग हुने बताउनुभयो । स्थानीय महिलासँग सहकार्य गर्ने र कालापत्थरको उचाइबाट जलवायु परिवर्तन प्रभावित महिलाको आवाज उठाएर विश्वलाई सन्देश दिने अयिभानको उद्देश्य रहेको साथसाथै संस्थाले जनाएको छ ।

हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भएपनि बढ्दो तापमान र जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको छ । यस विषयलाई पनि विश्वको ध्यानाकर्षण गराउने महिला पदयात्रा अभियानको उद्देश्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.