
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र निजी आवास कहिल्यै नढल्ने गरी बनाउने सङ्कल्प गरेअनुसार काम भएको बताउनुभएको छ ।बुधबार काठमाडौंमा भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय सम्मेलनको उद्घाटन गदैं राष्ट्रपति भण्डारीले भूकम्पपछि दुई महिनामै क्षतिको आङ्कलन गर्न सफल भएजस्तै अहिले पुनःनिर्माण पनि सफल भएको धारणा बताउनुभयो । उहाले पुननिर्माणको बाँकी कामलाई पनि अब सम्बन्धित निकायले तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने समेत बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने उहाले बताउनुभयो । २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटक–पटकका परकम्पले नेपालीलाई पाठसमेत सिकाएको राष्ट्रपति भण्डारीले बताउनुभयो । भूकम्पले नभई निर्माण भएका कमजोर संरचनाले क्षति गर्ने भएकाले बलियो पूर्वाधार निर्माण गर्ने अवसरका रुपमा पुनःनिर्माण अवधि उपयोग भएको विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न भएको उल्लेख गर्दै निर्माण प्रविधि र क्षमतामासमेत वृद्धि भएको बताउनुभयो । भूकम्पले क्षति भएका निजी आवास यसै वर्ष पुनःनिर्माण सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
सम्मेलनले नेपाललाई सन् २०३० सम्ममा विपद् जोखिममुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने विश्वास पुननिर्माण प्राधिकरणको छ ।
आगामी पुस ९ गते छ वर्षे कार्यकाल सक्न लागेको प्राधिकरणले पुनःनिर्माणका बाँकी काम विषयगत कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । प्राधिकरणमार्फत् हालसम्म सात लाख ५९ हजार ७१० घर पुनःनिर्माणको चरणमा रहेको छ । आठ लाख ६६ हजार २०७ जना भूकम्पपीडित प्राधिकरणको लाभग्राही सूचीमा छन् ।