



प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम गुणस्तरीय रुपमा तोकिएको समयमा आयोजना सम्पन्न हुनेगरी कार्य अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उक्त सडक खण्ड आयोजनाको काम पूर्वतयारीबिना अगाडि बढाइएको तथा न्युन क्षमताका निर्माण व्यवसायीबाट काम भइरहेको निष्कर्ष निकाल्दै तोकिएको समयमा आयोजना सम्पन्न हुनेगरी कार्य अगाडी बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।उक्त आयोजना समयमा सम्पन्न हुन नसक्दा यात्रुहरुले अनावश्यक रुपमा सास्ती बेहोर्नु परिरहेकाले समितिको ठहर छ ।
त्यस्तै बैठकले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको होडिङ बोर्ड लगायतका डकुमेन्टहरु अंग्रजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।त्यस्तै बैठकले विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञहरुसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति खड्काले जानकारी दिनुभयो ।
