December 6, 2022

सभामुख सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव नलड्ने घोषणा

सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव नलड्ने घोषणा गर्नुभएको छ । उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिन सभामुख सापकोटाले सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार पत्रकार सम्मेलन गरेर यो पटकको प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गर्नुभएको हो । उहाँले आगामी दिनमा सक्रिय राजनीतिमा रहने तर यो पटकको चुनाव नलड्ने बताउनुभएको हो । पत्रकार सम्मेलनमा उहाँले मंसिर ४ को चुनाव आफू नलड्ने तर युवाहरुलाई अघि बढाउन सहयोग गर्ने बताउनुभयो । चुनावी प्रतिस्पर्धामा भाग नलिए पनि जिन्दगीको अन्तिम घडीसम्म आफू सक्रिय रहने उहाँको भनाइ थियो । आफ्नो निर्णयले राजनीतिमा नयाँ रक्तसञ्चार गर्ने पनि उहाँको दाबी छ । सापकोटाले अब युवाहरूलाई अवसर दिन चाहेको भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने बताउनुभयो । आफू सिन्धुपाल्चोक १ बाट १ नम्बरमा सिफारिस भएको र जित्ने निश्चित भए पनि युवाहरूकै लागि यस्तो कदम उठाएको उहाँको दाबी छ । यस्तै सभामुखको कार्यकालबारे सोधिएको प्रश्नमा सापकोटाले अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै यसबारे थप चर्चा आवश्यक नरहेको बताउनुभयो । उहाँलाई माओवादी केन्द्रले सिन्धुपाल्चोक १ बाट सिफारिस गरेको थियो ।

सापकोटा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधान सभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो भने २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.