
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको अनुचित र फोहोरी उद्देश्यमा एमाले नलाग्ने बताउनुभएको छ ।मंगलबार नवनिर्वाचित सांसदहरुलाई बधाइ एवं सम्मान गर्न पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको आरोप लगाउदै अनुचित तवरबाट सरकार गठन गर्ने क्रियाकलापमा एमाले नलाग्ने बताउनुभएको हो । उहाले एमाले प्रतिपक्ष वा सत्ता जहा रहेपनि राष्ट्रियता, सुशासन, लोकतन्त्र र कानूनी राजको पक्षमा उभिने जिकिर गर्नुभयो । ओलीले गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाएकै कारण मुलुकमा सरकार गठनमा अन्यौलता देखिएको धारणा राख्नुभयो । त्यस्तै उहाले हालैसम्पन्न निर्वाचन धाँधली रहित हुन नसकेको बताउनुभयो । एमालेको बिजयी खोस्न राज्यसत्ता र शक्तिको चरम दुरुपयोग गरिएको उहाले बताउनुभयो । ओलीले बुथ क्याप्चर भएका प्रमाणहरु आउदा पनि दोहराएर निर्वाचन नगरिएको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो । धेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा पनि एमाले लोकप्रिय मतमा पहिलो भएको उहाले बताउनुभयो । अहिले मुलुक गम्भीर अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले विकास र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई लक्ष्य बनाएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सर्वाधिक मत पाएर जितेको भन्दै ओलीलाई सम्मान गरिएको थियो भने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सवैमा एमालेलाई बिजयी गराउन सफल एमाले जिल्ला अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।