December 5, 2022

सिमित स्रोत र साधनका बीच नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सफल छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सिमित स्रोत र साधनका बीच नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सफल भएको बताउनुभएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । उहाँले नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रंशसा हुने गरेको बताउनुभयो । उहाँ वर्तमान युग सूचना प्रविधिको युग भएको भन्दै प्रधानमन्त्री देउवाले समयसँगै परिवर्तन हुन प्रहरीलाई निर्देशन समेत दिनुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण रुपमा समपन्न गर्नका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै आगामी ४ मंसिरको निर्वाचन शान्तिपूर्ण बनाउनका लागि कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले अहिले संसारभर आपराधिक गतिविधिमा नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन आग्रह गर्नुभयो । उहाँले नयाँ विज्ञानको अपराधीले पनि प्रयोग गरिरएको भन्दै सुरक्षाकर्मीहरुले अपराध नियन्त्रणमा चनाखो रहन निर्देशन दिनुभयो । गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न गृहमन्त्रालय सदैव तत्पर रहेको आश्वासन दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीले जनताको शान्ति सुरक्षालाई प्रमुख जिम्मेवारी ठान्दै काम गरिरहेको बताउनुभयो । दिवसका अवसरमा पूर्वएआईजी राजेन्द्रबहादुर सिंहलाई नेपाल प्रहरीको लाइफटाइभ अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ३९ वर्ष नेपाल प्रहरीमा सेवा गर्नुभएका सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

त्यस्तै कार्यक्रममा एक वर्षभित्र वीरगति प्राप्त अमर सहिदको परिवारजनलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.