April 20, 2024

स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ती नरहेको

प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ती नरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार बनाउन सकिने तर यसका लागि दलीय सहमति भने जुट्नुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको भन्दै शव्दमा आपत्ती जनाउन नहुने धारणा राख्नुभयो । त्यस्तै उहाले मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर जनप्रतिनिधिहरुले सेवा प्रवाहमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । स्थानीय तहको बिकास निर्माणका साथै नीति निर्माण र कार्यान्वयनमा जनतालाई प्रत्यक्ष सहभागी गराउनुपर्नेमा उहाले जोड दिनुभयो । प्रधानमन्त्री देउवाले देशभरका नगरलाई व्यवस्थित, विकसित र स्वच्छ बनाउन नगरपालिकाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री देउवाले बिभिन्न बिधामा उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गर्नुभएको थियो । नगरपालिका संघले गरेको मुल्यांकनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेकोमा स्याङ्जाको वालिङ नगरपालीका र पुतलीबजार नगरपालीका पुरस्कृत भएका छन् । त्यस्तै सहरी योजना तथा विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ ।

वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका पुरस्कृत भएको छ । त्यस्तै स्थानीय स्रोत परिचालन गरेर स्थानीय आर्थिक विकास गर्नेमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट भएको भने सामाजिक विकासको विधानमा रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *