


प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनासंग जुध्नका लागि सरकारले स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘ग्लोबल कोभिड–१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड–१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराउनुभएको हो । उहाँले नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै कोरोना भाइरसको अनुवांशिक परीक्षणकोसमेत विकास गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालले कोभिड–१९ विरुद्धको खोप लगाउन लक्षित जनसङ्ख्यामध्ये ५० प्रतिशतलाई खोपको पहिलो मात्रा र एक तिहाइ जनसङ्ख्यालाई पूर्ण खोप लगाइसकेको जानकारी दिनुभयो ।
आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोपको पूर्ण मात्रा लगाउने सुनिश्चितता पनि भइसकेको उहाँको भनाइ छ ।प्रधानमन्त्री देउवाले नेपालले कोभिड–१९ को परीक्षण तथा खोपको पहुँचको दायरालाई ग्रामीण क्षेत्रसम्म पनि पु¥याएको जानकारी पनि गराउनुभयो ।
