November 23, 2022

हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडे

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो । खेलको ५३ सेकेण्डमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । मोइनुद्दीनको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट विश्वासले पोस्टको जाली चुमाए । दोस्रो हाफमा आक्रामक देखिएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो ।

सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काए । यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका जीवन गुरुङ चुनिए ।

Leave a Reply

Your email address will not be published.