चौथो संस्करणको डिशहोम १२खरी कथा लेखन प्रतियोगितामा कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको घोषणा गरिएको हो । नवीन अभिलाषीले प्रमाणपत्र र ट्रफीसहित नगद एक लाख रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै, रमेशजङ्ग थापाको कथा ‘डढेको आकाश’ दोस्रो भएको छ । थापाले ट्रफीसहित ६० हजार रुपैयाँ नगद प्राप्त गर्नुभयो । यस्तै, कथाकार रुमु न्यौपानेको कथा ‘घूँघट’ तेस्रो भएको छ । न्यौपानेले ट्रफीसहित ४० हजार रुपैयाँ नगद प्राप्त गर्नुभयो । बिजेताहरुलाई शिक्षाविद् केदारभक्त माथेमा, डिशहोमका अध्यक्ष हेमराज ढकाल लगाएतले पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा शिक्षाविद् माथेमाले कथामा ठूलो शक्ति हुने भन्दै यसको अध्ययनले वृत्तिविकास गर्ने धारणा राख्नुभयो । त्यस्तै डिशहोमका अध्यक्ष हेमराज ढकालले बाह्रखरीले यो प्रतियोगिता जारी राख्दासम्म सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले मिडियाभन्दा माथि उठेर कथा प्रतियोगिता गरेको भन्दै कथा समाजको चित्र भएको र यसलाई नबुझे समाज बुझ्न नसकिने बताउनुभयो ।
डिशहोम १२खरी कथा लेखनको चौथो स्पर्धामा नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन, भारत, कतार, यूएई, मलेसियालगायत मुलुकबाट ५९६ कथा प्राप्त भएका थिए । तीमध्येबाट उत्कृष्ट २५ कथा छानिएका थिए भने उत्कृष्ट २५ भित्रबाट प्रथम, द्वितीय र तृतीय कथा पनि छनोट गरिएको छ ।