राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संविधान पढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । रोल…..बिहीबार राष्ट्रियसभा बैठकमा उहाले वैकल्पिक सरकार बन्न सकेन भने मात्र मध्यावधिमा जानसक्ने संवैधानिक व्यवस्था रहेको स्मरण संसद बिघटन असंवैधानिक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले चुनाव हारेका मान्छेलाई मन्त्री बनाएर र मन्त्रिपरिषद् विस्तार गरेर संविधानको खिल्ली उडाउको आरोप पनि लगाउनुभयो । त्यस्तै, रायमाझीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्नेगरी प्रधानमन्त्री ओलीले बोलेको भन्दै आलोचना पनि गर्नुभयो । प्रधानमन्त्री ओलीकै कारण गणतन्त्र उपयुक्त होइन भन्नेलाई बल मिलेको भन्दै उहाले प्रधानमन्त्री ओलीले राजाावादीलाई प्रोत्साहित गरेको आरोप पनि लगाउनुभयो ।त्यस्तै नेकपा ओली समूहका नेता राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रतिनिधिसभा विघटन हुँदा सत्यानाश नभएको बरु ताजा जनादेशका लागि जनतामाझ जाने अवसर पाएको बताउनुभयो । पार्टीभित्रैबाट सरकारलाई काम गर्न नदिएकाले यो अवस्था आएको उहाले बताउनुभयो ।
बैठकमा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले बिभिन्न देशको उदाहरुण दिदै नेपालमा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके मात्रै बल्ल प्रतिनिधिसभा विघटनतर्फ जाने व्यवस्था रहेको बताउनुभयो । राष्ट्रियसभा सदस्य विमला पौडेलले राष्ट्रपतिविरुद्ध सडकमा लगाइएको नाराले सम्पूर्ण महिलाको शिर निहु¥याएको जनाउँदै त्यस विषयमा सम्बन्धित दलले माफी माग्नुपर्नेमा जोड दिनुभयो ।समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमारसिंह यादवले प्रतिनिधिसभा विघटन औचित्यहीन रहेको जनाउँदै उक्त मुद्दा संवैधानिक इजलासमा पुगेको र त्यहाँ उचित निर्णय लिइने विश्वास व्यक्त गर्नुभयो । बैठकमा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको थियो । राष्ट्रियसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक शुक्रबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।