October 26, 2021

तिहारको मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन सोमबार भाइटिका लगाइए

तिहारको मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन सोमबार भाइटिका लगाइएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाई यो पर्व मनाइन्छ । तिहारमा विशेषत विभिन्न सात रङको ठाडो टीका लगाईदिने चलन छ ।भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाए पछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुनारधर्मराज, गणपत्या दिवनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिने गरिन्छ ।
टीका लगाइ दिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका मिठोमिठो खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।

Leave a Reply

Your email address will not be published.